कैलाली। केन्द्रको राजनितीक समीकरणले सुदुरपश्चिम प्रदेशको राजनीतिमा पनि तरङ्ग ल्याइदिएको छ। केन्द्रको राजनितीक समीकरणले सुदुरपश्चिम प्रदेशको राजनीतिमा पनि परिवर्तन हुने सम्भावना बढाएको छ। सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण हुने भएपछि सुदूरपश्चिममा काँग्रेसबाहेकको सरकार बन्ने सम्भावना बढेको हो।
आज बालकोट बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहालसहितका दलहरुबीच नयाँ समीकरणको सहमति भएकोले अब सुदूरपश्चिममा पनि नेपाली काँग्रेसबाहेकको प्रदेश सरकार बन्ने सम्भवना भएको हो। सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्ने भएकाले त्यसो हुँदा नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा मिलेर सरकार बन्नेछ। यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद रहेका छन्। यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्।
बालकोट बैठकमा सहभागी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरु सहभागी भएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यसअघि छलफल गरेर बालकोटबाट बाहिरिएका थिए। एमालेको नेतृत्वमा यी दलहरुले गठबन्धन गर्ने समझदारीका लागि छलफल भइरहेको बताइएको छ। एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो।
साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ। बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति भएको छ । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए। जनमत पार्टीका ६ जना सांसद छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिनेछन्। जसअनुसार संसद्मा १६६ सांसदले एमाले-माओवादीसहितको नयाँ गठबन्धनलाई साथ दिनेछन्।