कञ्चनपुर। कारागारमा कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउन थारु अगुवाहरुले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएका छन्। रेशमलाई छुटाउन र दबाब दिन शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि थारु नेता तथा अगुवाहरुले धर्ना दिएका हुन्। काठमाडौंको डिल्लीबजारस्थित कारागारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी कैद भुक्तान गरिरहेका छन् ।
थारु कल्याणकारी सभाकी कञ्चनपुर जिल्ला अध्यक्ष सानु चौधरीले सरकारले राजवन्दी रिहाइका लागि ल्याएको अध्यायदेशको स्वागत तथा टीकापुर घटनाका राजबन्दीलाई रिहाई गर्न माग गर्दै धर्ना दिएको बताइन्। यस्तै उक्त अध्यायदेश शिघ्र प्रमाणीकरण गर्न पनि माग गरिएको उनले बताइन्। सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले अबिलम्ब प्रमाणीकरण गर्नुपर्ने उनीहरुको माग छ। प्रहरी र सर्बसाधारणसहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकारको आरोपमा रेशम सजाय भोगिरहेका छन्। उक्त अध्यादेश प्रमाणीकरण नभए आन्दोलनका कार्यक्रम सार्बजनिक गरिने जिल्ला अध्यक्ष चौधरीले बताएकी छिन्।