कैलाली। कैलालीको गोदावरी नगरपालीकाको निर्णय विरुद्ध ट्याक्टर व्यवसायी आन्दोलित भएका छन्। नगरपालिकाले आजदेखि खोलानालाबाट नदीजन्य पदार्थ खुला गरेको भएपनि नदीजन्य पदार्थ संकलनमा शुल्क बढाएको भन्दै ट्याक्टर व्यवसायी आन्दोलित भएका हुन।
छैटौं पटक टेण्डर खोल्दा पनि ठेकेदार नपाएपछि नगरपालिकाले आजदेखि आफै शुल्क उठाएर नदीजन्य पदार्थ खुला गर्ने निर्णय गरेको थियो। ट्याक्टर व्यवसायीहरुले गत बर्षको भन्दा शुल्क बढी भएको भन्दै स्याउले, खुटीया, बल्मी ट्याक्टर व्यवसायी संघले विरोध जनाएको छ। सो निर्णयको विरोध गर्दै स्याउले–खुटीया–बल्मी ट्याक्टर व्यवसायी संघले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।ट्याक्टर व्यवसायी संघका अध्यक्ष करन बोगटीले गत बर्षको भन्दा ४५ रुपैयाँ प्रतिघनमिटर रोयल्टी बढाएपछि विरोधमा उत्रिएको बताए।
उनले गतबर्ष नगरपालिकाले ७५ रुपैयाँ प्रति घनमिटर रोयल्टी लिने गरेकोमा यो बर्ष १२० पुगाइएको बताए ।गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले भने प्रदेशबाट नै भ्याट बाहेक १०६ रुपैयाँ तोकिएर आएकाले सोही अनुसार भ्याट सहित १२० रुपैया प्रति घनमिटर शुल्क कायम गरिएको बताए । उनले उक्त दररेट प्रदेशका सबै पालिकामा लागु हुने बताए। नगरपालिकाले टेन्टर खोल्दा पनि ठेकेदार नपाएपछि आजदेखि आफै रोयल्टी संकलन गरिरहेको छ । सूचना अधिकारी भाटले लामो समयदेखि नदीजन्य पदार्थ संकलन रोकिदा विकास निर्माणका काम रोकिन थालेपछि आफैले रोयल्टी उठाएर नदीजन्य पदार्थ संकलन सुरु गरिएको बताए ।