कैलाली। कैलालीको अत्तरियास्थीत मालाखेती अस्पताललाई मृत मानव शरीर चिस्यान यन्त्र हस्तान्तरण गरिएको छ। कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको उपस्थितिमा व्यवसायी मनोज अग्रवालले आज अस्पताललाई उक्त यन्त्र प्रदान गरेका हुन। व्यवसायी अग्रवालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वर्गिय बुवा मुलचन्द अग्रवालको सम्झनामा अस्पताललाई उक्त यन्त्र प्रदान गरेको बताए।
मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरिर चिस्यान यन्त्र राखिएको हो। मृत मानव शरीर चिस्यान यन्त्र भए आफन्त नआउँदासम्म बरफमा मृत शरीर राख्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। सो यन्त्र अग्रवालले भारतबाट ल्याएर निःशुल्क अस्पताललाई हस्तान्तरण गरेका हुन्। व्यवसायी अग्रवालले पार्थिव शरिर कुर्न र राख्नलाई यस्तो यन्त्र खोजेपनी यहाँ नेपालमा नभेटाउँदा यस्तो यन्त्रको आवश्यकता महसुस गरेको बताए। उनले अत्तरियामा पनि यस्तो यन्त्रको आवश्यकता महसुस गरेर आफुले भारतको बरेलीबाट १ लाख भारतिय रुपैयामा सो यन्त्र खरिद गरेको जानकारी दिए।
यसैबिच अत्तरियाकै होटल व्यवसायी हरि गुराँगाईले अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेका छन। उनले अस्पतालमा अक्सिजन नहुँदा छट्पटाउनुपरेको अवस्था नदोहोरियोस भनेर अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको बताएका छन्। गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले अस्पतालमा यन्त्रको राम्रो उपयोगीता रहने बताए। अधिकांश मानिसहरु बित्दै गर्दा केही दिनसम्म शव राख्नुपर्नेअवस्थामा शव राख्ने यन्त्र नहुँदा शव गन्हाउने र कुहिने सम्भावना कम हुने बताए। यन्त्रले १ हप्ता भन्दा बढी समयसम्म पनि पार्थिव शरिरलाई राख्न मिल्ने उनले बताएका छन्।