काठमाडौँ।नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छन् । सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले अध्यादेश ल्याउनु आफूहरुका लागि सकारात्मक कुरा भएको र राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वाससमेत व्यक्त गरिन्।उनले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन्। सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताइन् ।भिडियोसहित तल हेर्नुहोस
रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए। त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रियामा केही दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए। टीकापुर घटनामा दोषी ठहर भएर रेशम चौधरी जेल सजाय भोगिरहेका छन् । यसअघि सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि आज पार्टीका नेता–कार्यकर्ताको डिल्लीबजार कारागारअघि भिड लागेको थियो । उनी आजै छुट्ने आशामा पार्टीका नेता–कार्यकर्ता फूलमाला र पार्टीको झन्डासहित कारागारअघि जम्मा भएर भिड लागेको थियो। तर, कारागार प्रशासनले भने उनी आजै छुट्ने सम्भावना नभएको जनाएको छ। यता सरकारले हिंसात्मक गतिविधिमा संलग्नलाई माफी दिएर मुलधारका शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न लागेको स्पष्ट पारेको छ।
मंसिर २५ गतेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकमा योगदान गर्न चाहने सबैलाई अवसर दिनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्री कार्कीले बताए ।‘मुलुकलाई अहिले शान्ति चाहिएको छ, एकता चाहिएको छ, विकास र समृद्धि चाहिएको छ,’ कार्कीले भने, ‘त्यसका निमित्त सबैको योगदान रहोस भन्ने उद्देश्यका साथ यो अध्यादेश सिफारिस भएको छ ।’मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई मुलधारमा ल्याउने उद्देश्य सरकारको रहेको उनले बताए।