दार्चुला। दार्चुला सिमानाका क्षेत्रमा नेपाली र भारतीय नागरिकबीच झडप भएको छ । आज दार्चुलास्थित नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा झडप भएको जनाइएको छ । भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी निर्माण गरिरहेको र तटबन्धको विरोधमा नेपाली नागरिक उत्रिएपछि दुई देशबीचका नागरिकबीच ढुंगा हानाहान भएको हो । आज ४ बजेतिर उक्त झडप भएको प्रहरीले बताएको छ ।
नेपाली नागरिकमाथि दार्चुला पारी भारतको धार्चुलाबाट ढुंगा प्रहार हुँदा केही सामान्य घाइते भएको दार्चुला प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र भारतीय नागरिकले ढुंगा प्रहार गर्दा ४ नेपाली घाइते भएको बताएको छ। भारतीय पक्षले नदीको धार परिवर्तन गर्दा बर्सेनि महाकाली नदीले नेपालतर्फ क्षति पुर्याउँदै आएपनि नेपाली प्रशासन भने मौन बस्दै आएको छ।
महाकाली नदीको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोडेको छ । भारतले धमाधम निर्माण गरिरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा परिरहेको स्थानीयले बताएका छन् । त्यसकारण उनीहरु आन्दोलित बनेका छन्। भारतसामु नेपाली प्रशासन निरीह भएको उनीहरुको आरोप छ। अहिले नागरिकबीच विवाद भएपछि प्रहरीले महाकाली नदीमाथिको पुलमा आवतजावत बन्द गरेको जनाएको छ ।