कैलाली। सुदूरपश्चिममा यस पटकको निर्वाचनमा बढी स्थान गठबन्धनले जितेको छ। बाजुराबाहेक सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा मतगणना सकिरहदा प्राप्त परिणामअनुसार गठबन्धनलाई बहुमत मिलेको हो। प्रदेश तर्फका प्रत्यक्ष ३० स्थानको नतिजामा सत्तागठबन्धनले बढी स्थानमा जीत निकालेको छ।अहिलेसम्म नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ११ क्षेत्रमा विजयी हुँदा माओवादी केन्द्र ८ क्षेत्र र नेकपा एकीकृत समाजवादी २ क्षेत्रमा विजयी भएको छ।
नागरिक उन्मुक्तिले ५, एमालेले ३ सीट र स्वतन्त्रले एक सीट जितेको छ। गठबन्धनले प्रदेशका ३० मध्ये २१ स्थानमा जीत निकाल्दै प्रदेश सरकार बनाउन सुविधाजनक बहुमत प्राप्त गर्ने भएको छ। प्रत्यक्षतर्फ बाजुराका २ क्षेत्रको परिणाम आउन बाँकी छ भने समानुपातिकतर्फ २१ सिटमध्ये बढी सिट गठबन्धनकै भागमा पर्ने मत परिणामले देखाएको छ। नतिजा आइरहँदा प्रदेश सरकारको जोडघटाउ पनि सुरू हुन थालेको छ । ३० निर्वाचन क्षेत्रबाट प्राप्त ताजा परिणामअनुसार सत्तागठबन्धनलाई प्रदेश सरकार बनाउन सहज हुने देखिएको छ ।
प्रत्यक्षतर्फ गठबन्धनको मुख्य दल नेपाली काँग्रेसबाट सबैभन्दा बढी प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। नेपाली काँग्रेसका कैलाली र कञ्चनपुरबाट ३/३ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् भने अछाम जिल्लाबाट दुई जना सदस्य निर्वाचित भएका छन्। यस्तै बैतडी, दार्चुला, बझाङबाट १/१ जना सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेसका कमल शाह, प्रकाश बम, प्रकाश देउवा, बेलबहादुर राना मगर, बहादुर सिंह थापा, देवानसिंह विष्ट , विक्रम धामी, पृथ्वीबहादुर सिंह, शिवराज भट्ट, मेघराज खड्का र मानबहादुर रावल विजयी भएका छन् । माओवादी केन्द्रबाट रमेश धामी, खगराज भट्ट, ओमविक्रम भाट, भीमबहादुर भण्डारी, शिवसिंह ओली झपटबहादुर साउद र अक्कल रावल, मानबहादुर धामी विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र दीर्घ सोडारी निर्वाचित भएका छन्।
गठबन्धनका तीन दलको प्रत्यक्ष तर्फबाट २१ जना सांसद पुगेका छन् । यहाँ २७ सांसद हुँदा सरकार बन्छ । यसरी तीन दलको स्पष्ट सरकार बन्ने देखिन्छ । तर सुदुरपश्चिममा प्रतिनिधिसभातर्फ एक क्षेत्रमा माओवादीले जित निकाल्न सकेन । माओवादीका एक नेताका अनुसार प्रदेशमा राम्रै नतिजा आएपनि संघमा समस्या भएकोले गठबन्धनमा रहने/नरहने भन्ने केन्द्रीय राजनीतिमा भरपर्ने बताए । सुदूरपश्चिममा गठबन्धनलाई बहुमत प्राप्त भएपछि अब मुख्यमन्त्रीको बन्लान् भन्ने बारेमा चर्चा सुरु हुन थालेको छ । यही गठबन्धनको सरकार बन्ने अवस्था आए मुख्यमन्त्रीका लागि माओवादीबाट खगराज भट्टको सम्भावना बढी छ। चुनावभन्दा पहिले डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई भावी मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका थिए । उनी माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज पनि हुन्।
यस्तै कांग्रेसबाट भावी मुख्यमन्त्रीको रूपमा हेरिएका अघिल्लो पटक निर्वाचन जितेर संसदीय दलका नेता भएका आन्तरिक मामिला तथा कानून मन्त्री डा। रणबहादुर रावल निर्वाचनमै पराजित भएका छन् । अब उनको मुख्यमन्त्रीको दौडमा संख्या कम भएको छ । यस्तै डडेल्धुराबाट पराजित भएका बहालवाल सामाजिक विकास मन्त्री गोविन्द बोहरा पनि हालको निर्वाचनमा पारजित भएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले हराएका हुन् । उनी पनी पराजित भएसँगै सम्भावित मुख्यमन्त्रीको अवसर गुमाएका छन् । अब कांग्रेसका प्रत्यक्षबाट निर्वाचित ११ जनामध्ये कैलालीबाट प्रदेश सभामा निर्वाचित भएका प्रकाश देउवा, अछामबाट निर्वाचित भएका मेघराज खड्का र कञ्चनपुरबाट निर्वाचित भएका बहादुर सिंह थापाको सम्भावना बढी छ । त्यो कुरा गठबन्धन पार्टीका शिर्ष नेता र सुदूरपश्चिममा गठबन्धनकै दलका नेताको निर्णय अनुसार हुने नेताहरु बताउँछन् ।
‘