दार्चुला। दार्चुलाको छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामा हुने भएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन दार्चुला व्यास गाउँपालिका–१ छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
उनका अनुसार व्यासमा अहिले चिसो बढेका कारण अधिकांश मतदाता खलंगा झरिसकेकाले छाङरु र तिंकर दुवै गाउँवासीले जिल्ला सदरमुकाम खलंगाबाटै मतदान गर्ने गरी तयारी भएको हो। वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलंगामै मतदान गर्ने व्यवस्था गरिएको छ। दार्चुलाका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलंगामै कायम गरिएको जानकारी दिए।
छाङरुको मतदान केन्द्रमा तीन सय ८३ र तिंकरको केन्द्रमा दुई सय ३४ जना मतदाताले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मताधिकार प्रयोग गर्ने छन्। तिंकरका मतदाताले सदरमुकाम खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालयमा र छाङरुका मतदाताले कैलासपति आधारभूत विद्यालयमा मतदान गर्नेछन्। गत ३० वैशाखमा भएको पालिका तहको चुनावमा यो क्षेत्रमा नेपाली भूमिबाट छाङरू र तिंकर जान बाटो नभएका कारण हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको थियो। दार्चुलाका एक सय ४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन समेत गरिएको छ। चुनावका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी चुनाव सामग्री बुझेर मतदान केन्द्रमा पुगेर तयारी गरिरहेका छन् ।