धनगढी। सुदूरपश्चिम प्रदेशका जिल्लामा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारीहरु निर्वाचनका आवश्यक सामग्री लिएर मतदान केन्द्रमा खटेका हुन ।
उनीहरु मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टाम्प लगायतका सामग्री बुझेर मतदान केन्द्रमा खटेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन कार्यालयले जनाएका छन्।सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रमा
एक हजार १६१ मतदान स्थल र दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यता कैलालीमा पनि निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । मतपेटिका, मतपत्र, स्वस्तिक चिन्ह भएको छाप लगायत ५८ प्रकारका निर्वाचन सामग्री लिएर कर्मचारी मतदान केन्द्रमा खटिएका हुन । निर्वाचन गराउनका लागि खटेका कर्मचारीसंग यस पटक सेनिटाइजर र औषधि नरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको बेला कर्मचारीहरुलाई सेनिटाइजर र आवश्यक औषधि पनि दिइएको थियो ।
निर्वाचन सम्पन्न गर्नका लागि कैलालीमा पाँच हजार ७२ कर्मचारी र दुई हजार ५१६ जना स्वयम् सेवक गरी सात हजार ५८८ जनशक्ति खटिरहेका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी गरेर प्रत्येक मतदान केन्द्रमा आठ/आठ जना कर्मचारी रहने जनाइएको छ । पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा चार र त्योभन्दा कम मतदाता रहेको केन्द्रमा तीन जनाका दरले स्वयम् सेवक खट्ने छन् ।
जिल्लाकोे पहाडी क्षेत्रका लागि आवश्यक सामग्रीसहित बुधबार नै कर्मचारीहरु खटाइएको मतदान केन्द्रमा गइसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए । ‘तराई क्षेत्रमा आज कर्मचारीहरु मतदान केन्द्रतर्फ गएका छन्’, उनले भने । प्रमुख भट्टका अनुसार मतदान केन्द्रमा खटेका कर्मचारीहरुले २ र ३ गते मतदान स्थल तयार पार्नेछन् । यसैगरी, बैठक बसाउने लगायतका तयारीको काम गर्नेछन् । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा २३७ वटा मतदान स्थल र ६२९ मतदान केन्द्र कायम गरिएको छ । यो जिल्लामा ५३ मतदान स्थल अति संवेदनशील र १३१ मतदान स्थल संवेदशनील र ५३ मतदान स्थल सामान्य रहेका छन् । यसैगरी, १५८ अति संवेदनशील, ३४४ संवेदनशील र १२७ मतदान केन्द्र सामान्य रहेका छन् ।
दार्चुलामा पनि निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर मतदान केन्द्रहरुमा पुगेका छन् । सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रमा खटिएका कर्मचारी र सरक्षाकर्मीहरु बुधबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुगेका हुन् । जिल्लाको अति विकट अपिहिमाल, व्यास र लेकम गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरु बुधबार नै खलङ्गाबाट हिँडेका थिए । यातायातको पहुँच भएका र नजिकका केन्द्रहरुमा खटिएका कर्मचारी र सुरक्षाकर्मी समेत आज सम्बन्धित मतदान केन्द्रमा गइसकेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।
मङ्सिर १ गते साँझसम्म मतदान केन्द्रमा पुग्नुपर्ने भएकाले निर्वाचन सामग्री बुझेर सबै कर्मचारी र सुरक्षाकर्मी गइसकेको उनले बताए । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री बुझेका छन् ।
मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुुगेर मदिरा निषेधित क्षेत्रको सूचना टाँस लगायतका निर्वाचनसँग सम्बन्धित कामहरु गर्नुपर्ने बताइएको छ ।जिल्ला निर्वाचन कार्यालयका अनुसार ९ वटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरी कुल ८९ हजार १५४ मतदाता रहेका छन् । जिल्लाभरी ११२ मतदानस्थल १४१ मतदानकेन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र रहेका छन् । स्थानीय तह निर्वाचनको बेला दार्चुलाका ११० मतदानस्थल र १३९ मतदान केन्द्रमा निर्वाचन गरिएकोमा अहिले दुई मतदानस्थल र ४ केन्द्र थप गरिएको छ । जिल्ला कारागार दार्चुला र घरेलु कार्यालयमा अस्थाई मतदान केन्द्र राखिएको छ । कुनैपनि निर्वाचन केन्द्र अपाङ्गतामैत्री नबनाइएको गुनासो आएको छ । दार्चुलामा स्थानीय तह निर्वाचनमा ७२.०४ प्रतिशत मतदान भएको थियो ।