अछाम। मंसिर ४ गते हुने आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन आउन केही दिन मात्र बाँकी रहदा चुनावी प्रतिस्पर्धा हुन थालेको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ। सो कारण पनी चुनावी प्रतिस्पर्धाको चर्चा निकै चलेको छ। एमाले र गठबन्धनलाई जितको सहज/असहज बारे चर्चा थालिएको छ। दलका उम्मेदवार बिच आफुभित्र चुनौती थपिएको छ।
अछाममा दुवै निर्वाचन क्षेत्रमा एमालेलाई गत स्थानीय तहको प्राप्त मत अंकगणितअनुसार एमाले कमजोर देखिएपछि उसलाई चुनौती थपिएको पाइएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धको मतसंख्या २६ हजार दुई सय ७० छ भने एमालेको १६ हजार पाँच सय ६७ मात्रै देखिन्छ । यसअनुसार क्षेत्र नम्बर १ मा गठबन्धनभन्दा एमाले नौ हजार सात सय तीन मतले पछाडि छ ।
स्थानीय तहका पालिका प्रमुखको मतभारअनुसार यो क्षेत्रबाट एमाले शून्य छ भने कांग्रेसले चार र माओवादी केन्द्रले एउटा पालिका प्रमुख जितेको थियो । साँफेबगर नगरपालिका, चौरपाटी, मेल्लेख, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिकाका जम्मा ४२ वडामध्ये कांग्रेसले १९, एमालेले १३, माओवादीले पाँच, एकीकृत समाजवादीले दुई र स्वतन्त्र तीनले वडाध्यक्ष जितेका हुन् । यहाँ कांग्रेस वडाध्यक्षको मत १६ हजार सात सय २८ छ भने एमालेको १६ हजार पाँच सय ६७, माओवादीको ६ हजार सात सय ९० र एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार सात सय ५२ मत प्राप्त गरेका थिए । जसअनुसार गठबन्धनको मतसंख्या २६ हजार दुई सय ७० हुन आउछ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को मत अंकगणितमा पनि एमाले कमजोर छ । यहाँका पाँच स्थानीय तहमा गत वैशाखमा सम्पन्न निर्वाचनमा प्रमुख र अध्यक्षले प्राप्त गरेको मतअनुसार गठबन्धको मतसंख्या २८ हजार एक सय ११ छ भने एमालेको १८ हजार पाँच सय १७ मात्रै छ । जसअनुसार एमालेभन्दा गठबन्धन नौ हजार पाँच सय ९४ मतले अगाडि छ ।
क्षेत्र नम्बर २ मा रहेका मंगलसेन, पञ्चदेवल विनायक र कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामध्ये एमालेले मंगलसेनबाहेक अन्य कुनै पनि पालिकामा जित्न सकेन । मंगलसेनमा भने एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । वडा तहको अंगकणितअनुसार यहाँका ४९ मध्ये हालको गठबन्धनले २६ र एमालेले २२ वडा जितेको थियो । यहाँ कांग्रेसले २१, माओवादी केन्द्रले दुई र समाजवादीले तीन वडा जितेको हो । एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए । स्थानीय चुनावमा यो क्षेत्रमा कांग्रेसले १९ हजार पाँच सय ५७, माओवादी केन्द्रले ६ हजार दुई सय ६३ र नेकपा एकीकृत समाजवादीले दुई हजार दुई सय ९१ मत पाएको थियो । एमालेले अछाममा नयाँ उम्मेदवार खडा गर्दा गठबन्धनलाई सहज भएको छ । एमाले पूर्वउपाध्यक्ष भीम रावललाई छाडेर झपट बोहरालाई उम्मेदवार बनाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शेरबहादुर कुँवर सेफजोनमा पुगेका हुन् ।
हरेक निर्वाचनमा अछाम १ बाट जित्दै आएका रावल यसपटक चुनावी मैदानमा छैनन्, उनी चुनावी प्रचारमा अछाम पनि गएनन् । बरु एमालेले पूर्वमाओवादी नेता बोहरालाई उम्मेदवार बनाएको छ ।
गठबन्धनबाट प्रदेश सभा क मा कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्का र प्रदेश सभा ख मा माओवादी केन्द्रका झपटबहादुर साउद उम्मेदवार छन् । एमालेबाट प्रदेश सभा क मा देवबहादुर कुँवर र प्रदेश सभा ख मा कृष्णप्रसाद जैसी चुनावी प्रतिस्पर्धामा छन् ।यस्तै अछाम १ मा एमालेबाट उम्मेदवार झपट बोहरालाई आगामी चुनावमा असन्तुष्ट भिम रावलनिकट नेता कार्यकर्ताले असहयोग गर्न सक्ने डर छ।रावलले बोहरालाई सघाउने वा नसघाउने कुनै प्रतिक्रिया दिएका छैनन्। रावललाई पाखा लगाउँदै पार्टीको तल्लो कमिटीको निर्णयविपरीत केन्द्रले रावललाई टिकट नदिएर ठूलो गल्ती गरेको एमालेका एक नेताले बताए। लामो समयदेखि चुनाव लड्दै आएका अनुभवी, राष्ट्रवादी छवि बनाएका नेतालाई बाइपास गरिएको र अहिले चुनावमा रावल खटाइएको छैन् ।अछाममा एमाले कमजोर नभएको उनले बताए ।
अन्य जति दलले गठबन्धन गरे पनि हामीलाई फरक पर्दैन । अहिलेको गठबन्धन हामीभन्दा करिब दश हजार मतले अघि भए पनि यो क्षेत्रमा मैले लोकप्रिय मत धेरै पाउनले उनले बताए । त्यसैले यसपटक पनि एमालेकै जित हुन्छ । यसमा हामी ढुक्क रहेको उनले बताए। अछाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह म यसपटक क्षेत्र नम्बर २ का जनताको असल र इमानदार प्रतिनिधिका रूपमा चुनावी मैदानमा छु । अरूले विगतमा जितेर पनि जनताप्रति देखाएको व्यवहारले नै यो क्षेत्रका मानिस आजित छन् । म आफू जहाँ–जस्तो अवस्थामा रहे पनि यो क्षेत्रको विकास, समृद्धि र उन्नतिका लागि निरन्तर खटिएको कुरा सबैले बुझेका छन् । म इमानदार छु भनेर म आफैँले भनिरहनुपर्दैन । त्यो कुरा सबैलाई थाहा नै छ । म पूर्वी अछाममा समृद्धिको ढोका खोल्नेछु उनले भने । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट यज्ञबहादुर बोगटी चुनावी मैदानमा छन् । उनले मैले यसअघि प्रतिनिधिसभामा हुँदा पनि सामाजिक रूपान्तरणका धेरै काम गरेको बताए । यसबारे यहाँका जनता जानकार छन् । समृद्धिका लागि मैले त्यसवेला विशेष पहल गरेको थिएँ । अझै शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणका सवालमा सबै काम पूरा हुन सकेका छैनन् । त्यसका लागि म फेरि उम्मेदरवारका रूपमा अघि सरेको हुँ । अहिले हामी यहाँका सबै ४७ वडामै पुगेर मतदाता भेटेका छौँ । उहाँहरूको हामीप्रति सकारात्मक धारणा छ । त्यसैले यसपटक हामी जित्नेमा ढुक्क रहेको उनले बताए । यता अछामका दुवै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । क्षेत्र नम्बर १ मा कांग्रेस महासमिति सदस्य राजन कुँवर र होटेल व्यवसायी हिक्मत कुँवर पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा चन्द्रप्रसाद ढुंगाना स्वतन्त्र उम्मेदवार हुन् । उनी यसअघि कांग्रेस जिल्ला उपसभापति थिए । पार्टी नेताहरूको कार्यशैली ठीक नभएको भन्दै पार्टीबाट राजीनामा दिएर केही समय तटस्थ बसेका ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनीहरु पनी आफू जित्ने दाबी गरेका छन् ।