नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् केन्द्रिय निर्वाचन अनुगमन उपसमितिका संयोजक नैनसिँह महरले संवैधानिक बाटोमा नेपाललाई लैजानका लागि गठबन्धन आवश्यक रहेको बताए । सोमबार लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको गोदावरी धाम तथा आर्यघाट सरसफाई कार्यक्रममा बोल्दै उनले जनताले विगतका जस्तोे दुःख नपाउन, प्रजातन्त्रका लागी फेरि लड्न नपरोस र संविधान जलाउने गरी संसद विघटन नहोस् भन्नका लागि गठबन्धन गरिएको र अहिले देशलाई पनि त्यसको आवश्यकता रहेको बताए ।
‘विगतको ओली प्रवृत्तिको शासनको पुनरावृत्ति नहोस् भन्नका लागि गठबन्धन हो’ उनले भने ‘जनताले ओली शासनमा पाएको जस्तो दुःख नपाउन र देशको संविधान ध्वस्त हुने काम नहोस् भन्नका लागि यो निर्वाचन पछि पनि गठबन्धनको सरकारले नेतृत्व तहमा आउन आवश्यक छ ।’ उनले अहिले सबै जनता ओली प्रवृत्तिदेखि आक्रोसित भएकाले निर्वाचनपश्चात गठबन्धन दुई तिहाईको बहुमत ल्याएर सरकार निर्माण गर्ने बताए ।
कैलाली क्षेत्र नं। ४ बाट प्रतिनिधि सभाका लागि आफ्नो दावेदारी पेश गरेका उनले पार्टीले दिएको टिकटवाला मान्छेलाई नै जिताउन आग्रह गरे । ‘चुनाव पार्टीले लडिरहेको हो, धेरै जनाको अपेक्षा भएपनि सबैले टिकट पाउने भन्ने हुदैन् । सबैका चाहनाहरुलाई एक ठाउँमा मिलाएर काम गर्नुपर्ने हुन्छ’ उनले भने ‘मैले टिकट नपाएपनि म पार्टीको कार्यकर्ता भएको नाताले पार्टीका उम्मेदवारलाई जिताउनका लागि लाग्नुपर्ने मेरो नैतिक कर्तव्य हो र त्यसका लागि म लाग्नेछु । पार्टी प्रतिको दायीत्व कसैले पनि विर्सन हुदैन् ।’
उनले फरक–फरक उम्मेदवारहरुले फरक–फरक क्षेत्रहरुबाट निर्वाचन लड्नपर्ने बताए । टुरिष्ट शब्दको खण्डन गर्दै उनले निर्वाचन क्षेत्र एउटैमा केन्द्रित भए अर्को क्षेत्रका जनतालाई अन्याय हुने बताए ।
‘मन्त्री र प्रधानमन्त्री भएको ठाउँमा मात्रै विकास जाने अर्को ठाउँमा नजाने परिस्थीति छ’ उनले भने ‘नीति निर्माणका तहमा पनि चुनावी क्षेत्र परिवर्तन गरेर लड्ने व्यवस्था नगरुञ्जेल सम्म देशको भौगोलिक समानुपातिक विकास हुदैन् । त्यसैले टुरिष्ट नभनी निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव लड्ने व्यवस्था मिलाईनुपर्दछ ।’ उनले टुरिष्ट शब्द नसक्ने मान्छेले अरु केही नपाएर लगाएको आरोप मात्रै भएको बताए ।