धनगढी। कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र १ का उम्मेदवार रमेशसिंह धामीले देशलाई विकास र समृद्धिको बाटोमा लैजान गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन् । धनगढी उपमहानगरपालिका–१९, फूलबारीमा आइतबार आयोजित चुनावी कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मुलुकको विकास र समृद्धिका लागि बामलोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ, उनले भने । गणतन्त्र र संविधानको रक्षा गर्न र मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान गठबन्धन बनेको बताए । यो क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे । ‘यो क्षेत्रका समस्या समाधान गर्ने र विकास निर्माणका योजनालाई अघि बढाउने काम गठबन्धनले गर्छ ।’ नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका धामीले भने, ‘निर्वाचित भइसकेपछि म तपाइहरुले दिएको मत खेर नजाने गरी काम गर्ने प्रतिवद्धता जनाउँछु ।’ यही बसेर लामो समय राजनीति गरेकाले आफ्नो क्षेत्रका समस्याबारे आफू जानकार रहेको धामीले बताए ।
गठबन्धनको जितले मात्र संविधानको रक्षासँगै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने उनले ठोकुवा गरे । ‘संविधानको रक्षा, देशको रक्षा र मुलुकलाई समृद्धिको बाटोमा लैजान गठबन्धन बनेको हो । त्यसैले गठबन्धनलाई भोट किन नहाल्ने ?’ उनले भने, ‘विकास र समृद्धिका लागि यसपालि गठबन्धनलाई विजयी गराएर पठाउनोस्, यहाँको विकास हामी गर्छौँ।’ देशको आवश्यकताका लागि गठबन्धन बनेकोले माओवादीले काँग्रेसको चुनाव चिन्ह रुख र काँग्रेसले माओवादीको चुनाव चिन्ह हसिया हतौडामा मत हाल्न कुनै अफ्ठेरो नमान्न उनले गठबन्धनका कार्यकर्तालाई आग्रह गरेका छन् ।