कैलाली। मंसिर ४ गते हुने आसन्न निर्वाचनकालागी सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ क्षेत्रमा १८ ‘हेभिवेट’ नेता चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा बहालवाला तथा पूर्व गरी १८ जना मन्त्री प्रतिनिधिसभाको निर्वाचनका लागी होमीएका छन् । उनीहरु सिंहदरबार भित्र पस्ने चक्करका लागी आफु कसरी जित्ने भन्ने कसरतमा लागेका छन् । कसरत गरिरहेका पनी कतिको हार र कतीको जित हुने कुरा मंसिर ४ गतेको निर्वाचनले देखाउने छ।
तरपनी यो बिषयमा भने हार जितको बहस भने सुरु भइसकेको छ। दार्चुलाका दिलेन्द्र बडू, गणेश ठगुन्ना, कैलाली ४ का लेखराज भट्ट र वीरबहादुर बलयार, अछाम– १ का शेरबहादुर कुँवर र झपट बोहोरा र कञ्चनपुर–१ का बिना मगर र तारा लामामध्येका चार जनाका लागि निर्वाचन चुनौती पुर्ण देखीएको छ । त्यसरी चुनावी मैदानमा उत्रिनेहरूमा भने संघ र प्रदेश दुवैतिरका मन्त्रीहरू परेका छन् । र, अर्कोचाहिँ सुदूरपश्चिमका नौवटै जिल्लामा बहालवाला र पूर्वमन्त्रीहरू चुनावी मैदानमा देखिएका छन् ।
हुन त सुदूरपश्चिममा मन्त्री मात्र होइन, प्रधानमन्त्रीसमेत चुनावी प्रतिस्पर्धामा छन् । शेरबहादुर देउवाका लागि डडेल्धुरा असुरक्षित क्षेत्र होइन । तर, नियतिले उनलाई आफ्नै पूर्वस्वकीय सचिवसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आइपरेको छ । पहिलो निर्वाचित मन्त्रिपरिषद्मा मन्त्री हुने इतिहास पनि सुदूरपश्चिमसँग छ। त्यतिबेला एकसाथ दुईवटा रेकर्ड बनेका थिए । पहिलो महिला मन्त्री, सहोदर दिदीभाइ एउटै मन्त्रिपरिषद्मा पुगेको रेकर्ड पनि त्यतिबेला नै सुदूरपश्चिमले बनाएको थियो ।कांग्रेसले २०१५ सालको आमचुनावमा क्षेत्र नं. ६६ डडेल्धुराबाट द्वारिकादेवी ठकुरानीलाई उम्मेदवार बनाएको थियो।
ठकुरानी ३ हजार ९०३ मत ल्याएर डडेल्धुराबाट विजयी भएकी थिइन् । ठकुरानी १३ जेठ २०१६ मा विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा गठित मन्त्रीमण्डलमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री भएकी थिइन्। १६ असार २०१६ मा मन्त्रीमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायकमन्त्री बनिन् । नेपालको मन्त्रीमण्डलमा समावेश हुने ठकुरानी पहिलो महिलामन्त्री हुन् । बीपी कोइरालाको मन्त्रीमण्डलमा द्वारिकादेवी मात्र होइन, उनका भाइ शिवराज पन्त पनि मन्त्री बनेका थिए।सुदूरपश्चिमका १८ ‘हेभिवेट’ चुनावी मैदानमा, के छ अवस्था ?
शेरबहादुर देउवा- प्रधानमन्त्री शेरबहादुर देउवा सातौँपटक चुनाव लड्दैछन्– डडेल्धुराबाट । २०४८ सालको प्रतिनिधिसभामा ‘डेब्यु’ गरेर यताका छवटै चुनावका अपराजित देउवा सातौँ जितको दौडमा छन्। देउवाले २०६४ को संविधानसभा चुनावमा भने डडेल्धुरा र कञ्चनपुरबाट तथा दोस्रो संविधानसभाको चुनावमा डडेल्धुरा र कैलालीबाट चुनाव जिते । त्यसबाहेकका चुनावहरू देउवा डडेल्धुरामै केन्द्रित छन्। २०७४ को चुनावमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षतर्फको चुनाव जित्ने कांग्रेसका देउवा एक्लो सांसद हुन् । योपटक देउवा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा डडेल्धुराबाट चुनावी मैदानमा छन्।
दिलेन्द्रप्रसाद बडू- दार्चुलाबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा होमिएका दिलेन्द्रप्रसाद बडू बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन् । अघिल्लोपटक समानुपातिकबाट सांसद बनेका बडू योपटक प्रत्यक्षबाट सिंहदरबार प्रवेशको खोजीमा छन् । उनले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए । योपटक बडूलाई गठबन्धनको साथ छ र उनको प्रतिस्पर्धी एमालेका गणेश ठगुन्ना हुन् ।
गणेश ठगुन्ना- गणेश ठगुन्ना पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुन् । उनी यो चुनावमा दार्चुलामा एमालेबाट उम्मेदवार छन् । २०७७ मा प्रधानमन्त्री केपी ओलीले ठगुन्नालाई मन्त्री बनाएका थिए । २०७० र २०७४ सालको चुनाव जितेका ठगुन्ना तेस्रो जितका लागि चुनावी मैदानमा छन् । पूर्वमन्त्री ठगुन्ना बहलावाला मन्त्री बडूसँग प्रतिस्पर्धा गर्दैछन् ।
दामोदर भण्डारी- एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहेका दामोदर भण्डारी बैतडीमा चुनावी प्रतिस्पर्धामा छन् । २०७० को दोस्रो संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा सदस्यमा विजयी भण्डारी पूर्वअर्थराज्यमन्त्री हुन् । अघिल्लोपटक भण्डारीलाई जिताउन प्रमुख भूमिका खेलेका माओवादी केन्द्रका नेता नरेन्द्रबहादुर कुँवर भण्डारीको प्रतिस्पर्धी छन् । भण्डारी लगातार तेस्रोपटक विजयी भएर ह्याट्रिक गर्ने दाउमा छन् । बैतडीमा एमालेको संगठन बलियो रहेका कारण दुईपटक जितेका कारण तेस्रोपटक पनि जित्ने दाउमा भण्डारी छन् ।
भानुभक्त जोशी- एकीकृत समाजवादीका नेता भानुभक्त जोशी बझाङमा गठबन्धनका साझा उम्मेदवार हुन् । जोशीलाई अहिले पाँच दलीय सत्ता गठबन्धनको साथ छ । जोशीको २०४८ को पहिलो चुनावी अनुभव नै पराजयको छ । उनले २०५१ सालको मध्यावधि चुनावमा भने कांग्रेसका अर्जुनजंग सिंहलाई पराजित गर्दै बझाङबाट पहिलोपटक सांसद बनेका हुन् ।२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बझाङ १ बाट विजयी भएका जोशी झलनाथ खनाल नेतृत्वको ६ छमहिने सरकारमा वन तथा वातावरणमन्त्री भए । जोशी आफ्नै विद्यार्थी ऐन महरसँग प्रतिस्पर्धामा छन् ।
कर्ण थापा– एमालेका नेता कर्ण थापा चौथोपटक बाजुराबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनले तीन चुनावमा दुई हार व्यहोरेका छन् । २०५६ सालमा चुनावमा डेब्यु गरेका थापाले २०७० को चुनाव जितेर उनले संसद्को यात्रा तय गरेका थिए । थापा २०७० पछि बनेको कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री भएका थिए । पार्टी विभाजनको समयमा उनलाई गठबन्धनको चुनौती छ।
शेरबहादुर कुँवर- बहालवाला श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर एकीकृत समाजवादीको तर्फबाट अछाम– १ मा चुनावी मैदानमा छन् । उनलाई चुनावमा सत्तागठबन्धनको साथ छ । उनी गत फागुन २० गतेसम्म राष्ट्रियसभा सदस्य थिए । तर, अहिले गैरसांसदका रूपमा मन्त्री छन् । गत वर्ष एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । कुँवर २०६४ सालबाट पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ बाट निर्वाचित भएका थिए । २०७४ सालमा राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए ।
प्रेम आले-डोटीबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रेका प्रेम आलेले २०७४ को चुनावमा वाम गठबन्धनबाट जितेका थिए । २०६४ सालको पहिलो संविधानसभामा डोटी–२ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका आलेले चुनाव हारेका थिए । २०७० सालको दोस्रो संविधानसभामा चुनाव भने जितेका थिए । एमाले विभाजन भएपछि उनी एकीकृत समाजवादीमा लागेका छन् । ओली सरकारको पालामा वन तथा वातावरणमन्त्री बनेका आले पार्टी विभाजन भएपछि पनि देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने ।
लेखराज भट्ट- लेखराज भट्टले नेकपा माओवादीबाट २०६४ सालमा पहिलो संविधानसभाको चुनाव कैलालीबाट जितेका थिए । दोस्रो संविधानसभा चुनावमा भट्टले हारे । २०७४ सालमा गठबन्धनबाट चुनाव जितेका थिए । आउँदो मंसिरमा हुने चुनावमा उनी एमालेको तर्फबाट कैलाली–४ बाट उम्मेदवार बनेका छन् । तीन चुनावमा माओवादीबाट उम्मेदवार बनेका भट्ट यो चुनावमा भने एमालेबाट उम्मेदवार बनेका छन् । उनी नेकपा विभाजन हुँदा एमालेमा नै बसेका थिए । भट्ट सांसद भएपछि माओवादी हुँदा पनि पटकपटक मन्त्री बनेका थिए । ओली नेतृत्वको सरकारमा भट्ट उद्योगमन्त्री थिए । गत वर्ष उनी एमालेमा नै बसेपछि माओवादीले सांसद पद खारेज गरिदिएको थियो । सर्वोच्च अदालतमा मुद्दा परेपछि मन्त्री पद पनि गुमाउनुपरेको थियो । उनी अहिले कैलाली– ४ बाट चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धी कांग्रेसका वीरबहादुर बलायर छन् ।
रामजनम चौधरी- रामजनम चौधरी कैलाली–१ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । २०४८ सालमा पहिलोपटक चौधरी कैलाली–२ बाट सांसद बनेका थिए । त्यसपछि चारपटक सांसद बनेका चौधरी छैटौँपटक पनि सांसद बन्ने दाउमा छन् । उनलाई गठबन्धनको साथ छ । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए । चौधरी पूर्वस्वास्थ्यमन्त्री हुन् ।
गौरीशंकर चौधरी- एमालेबाट गौरीशंकर चौधरी कैलाली– १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा माओवादी केन्द्रबाट वाम गठबन्धनका तर्फबाट विजयी बनेका थिए । नेकपा विभाजन भएपछि अन्तिम समयमा नेकपा एमालेमा बसेका थिए । एमालेमा नै बसेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनालाई कृषिमन्त्री बनाएका थिए ।
नारदमुनि राना- एमालेको तर्फबाट कैलाली–५ बाट उम्मेदवार बनेका छन् । राना स्थानीय तहको राजनीति गर्दै केन्द्रसम्म पुगेका हुन् । अघिल्लो चुनावमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेपछि उनी चर्चामा आएका थिए । वाम गठबन्धनको तर्फबाट उनले राणालाई पराजित गरेका थिए । ओली सरकार ढल्ने अन्तिम समयमा राना वन तथा वातावरणमन्त्री बनेका थिए ।
रमेश लेखक- रमेश लेखक नेपाली कांग्रेसको तर्फबाट कञ्चनपुर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । लेखक कांग्रेसभित्र बौद्धिक नेता मानिन्छन् । उनी २०५६ सालको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं। ३ बाट विजयी भएका थिए । दोस्रो संविधानसभा चुनावमा जितेका थिए। अघिल्लो चुनावमा गठबन्धनका दीपकप्रकाश भट्टसँग पराजित भएका थिए । उनी लोकतन्त्र पुनर्स्थापित भएपछि श्रम तथा यातायातमन्त्री भएका थिए ।
वीरबहादुर बलायर- कांग्रेसनेता वीरबहादुर बलायर कैलाली–४ बाट उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि एमाले नेता लेखराज भट्टसँग प्रतिस्पर्धा गरिरहेका बलायर पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् । उनी डोटीबाट चुनाव लड्दै आएकोमा यसपटक सत्ता गठबन्धनका कारण डोटीबाट कैलाली ओर्लिएका हुन् ।
तारा लामा तामाङ- तारा लामा तामाङ एमालेको तर्फबाट कञ्चनपुर–१ मा उम्मेदवार बनेका छन् । उनी योभन्दा पहिला एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर लागेका थिए । एसमा लागेकै कारण सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री भएका थिए । एसले उनलाई मन्त्रीबाट फिर्ता गरेपछि उनी रुष्ट भई एमालेमै फिर्ता भएका हुन् । अहिले पूर्वसंघीय मन्त्री बिना मगरसँग प्रतिस्पर्धामा छन् ।
झपट बोहरा- अछाम–१ मा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका बोहोरा पूर्वमाओवदी नेता हुन् । २०७४ मा माओवादीबाटै प्रदेशसभामा निर्वाचित भएका थिए । र, सुदूूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री थिए । नेकपा विभाजनपछि उनले मन्त्री पदबाट राजीनामा दिएर एमाले रोजेका थिए । उनी अहिले भीम रावलको क्षेत्रबाट चुनावी मैदानमा छन् ।
बिना मगर-माओवादी केन्द्रको तर्फबाट कञ्चनपुर–१ बाट उम्मेदवार बनेकी छिन् । उनलाई गठबन्धनको साथ छ । उनी पहिलोपटक २०७० सालमा दोस्रो संविधानसभाको चुनावमा उम्मेदवार बनेकी थिइन् । तर, पराजित भइन् । २०७४ सालमा वाम गठबन्धनको तर्फबाट चुनाव जितेकी हुन् । २०७५ मा ओली नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेकी थिइन् । ओलीले संसद् विघटन गरेपछि राजीनामा दिएकी थिइन् । उनी अहिले एमालेका पूूर्वमन्त्री तारा लामा तामाङसँग चुनावी प्रतिस्पर्धामा छन् ।
एनपी साउद- नेपाली कांग्रेसको तर्फबाट कञ्चनपुर– २ बाट उम्मेदवार बनेका छन् । साउदसँग यसअघि कञ्चनपुरमा ५ वटा निर्वाचन लडेको अनुभव छ । उनको चुनावमा पहिलो डेब्यु २०५१ सालमा भएको हो । त्यतिबेला उनी पराजित भएका थिए । एमाले विभाजनको मौका पारेर २०५६ मा चुनाव जितेर संसद् पुगेका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा साउदले हारे । २०७० को दोस्रो संविधानसभा चुनावमा साउदले जिते। २०७४ मा साउद वाम गठबन्धनका साझा उम्मेदवार एमालेका धामीसँग पराजित भए । अहिले पनि साउद र धामी प्रतिस्पर्धामा छन् । साउद २०७० पछि सुशील कोइरालाको प्रधानमन्त्रीकालमा सिँचाइमन्त्री भएका थिए ।


