कैलाली। सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले जानकारी दिए ।
विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो।सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्।‘सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ,’ जोशीले भने, ‘यस क्षेत्रका सम्भाव्यताबारेमा अध्ययन अनुसन्धान गरी प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।
’ विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई विस्तार गर्ने थलोका रूपमा विकास हुने उनको भनाइ छ। ‘सम्मेलनमा पश्चिमसेती परियोजना र गेटा मेडिकलका विषयमा समेत बहस हुन्छ,’ उनले भने, ‘अक्सफोर्ड विश्वविद्यालयलगायत अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरूलाई आमन्त्रण गरिएको छ ।’ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवम् सम्मेलन आयोजक समितिका उपसभापति डा। कृष्ण अधिकारीले यो बहुविधाको सम्मेलनका रूपमा रहने बताए । ‘सम्मेलनमा भर्चुअल तथा प्रत्यक्ष रूपमा पनि सहभागी हुनसक्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।रासस

