डडेलधुरा। सत्तासीन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ०७४ सालको निर्वाचनपछि साढे तीन वर्ष सरकार चलाएको नेकपा एमालेले घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको बताएका छन्। डडेल्धुराको अजयमेरु गाउँपालिकामा सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता महरले एमालेले प्रकाशित गरेको घोषणापत्रमा समेटिएका २० ग्यारेन्टी आधारहीन भएको बताए।
२० ग्यारेन्टीका नाउँमा निर्वाचन प्रभावित पार्न एमालेले जनताको आँखामा छारो हाल्ने काम गरिरहेको उनको भनाइ छ । केपी ओलीले साढे तीन वर्षसम्म सरकार चलाए पनि २०७४ को घोषणापत्रमा उल्लेख एक प्रतिशत काम पनि नगरेको महरको दाबी छ । उनले भने, ‘आफ्नो घोषणापत्रमा लेखेको एक प्रतिशत काम पनि जुन पार्टीले कार्यान्वयन गर्दैन त्यो पार्टीले देश बनाउँछु भन्नु हावादारी कुरा हो । त्यसैले जनता कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा उभिन आवश्यक छ ।’
ओली नेतृत्वको सरकारले साढे तीन वर्ष सरकार चलाएर ऋण बढाउने मात्रै काम गरेको महरले बताए । ‘केपी ओली प्रधानमन्त्री हुने समयमा एक जना नेपालीको टाउकोमा चानचुन २३ हजार ऋण थियो,’ महरले भने, ‘ओलीले साढे तीन वर्ष सरकार चलाएपछि ६० हजारभन्दा बढी पुर्याइदिए । ६ खर्ब रहेको देशको ऋण पनि बढाएर २० खर्ब बढी पुगाइदिए । फेरि पनि ओली नेतृत्वको सरकार बने अबको ५ वर्षमा एक सय खर्बको अर्थतन्त्र बन्ने भन्दा पनि एक सय खर्ब ऋण थपिने र देश कंगाल बन्ने खतरा रहेको महरले बताए । कांग्रेस संविधान बचाउन, स्थिरता कायम गर्न र देशको सम्बृद्धिका लागि गठबन्धन बनाएर अगाडि बढेको उनको तर्क छ ।