नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि ९कात्तिक ६ गते० परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । आइतबार बेलुकी ५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ प्राध्यापक अधिकारीले भने ।
यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।