काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ। आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने सबै अर्थात् ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ।
प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ भएको छ भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ भएको आयोगले जनाएको छ । आयोगकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिबार (असोज २९ गते)सम्म १७ लाख मतपत्र छपाइ भएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।