काठमाडौं। २४ कार्टुन रजनीगन्धाको अवैध ओसारपसार गर्ने ४ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले १८ लाख ४६ हजार ७३४ रुपैयाँ मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले नुवाकोट लिखु गाउँपालिकाका रामशरण बोगटी, सिरहाका मिर्चैया गाउँपालिकाका अमितकुमार शाह, अछाम पञ्चदेवल विनायक नगरपालिकाका नमराज तिमिल्सिना र अछामकै सोही गाउँपालिकाका तीर्थराज ढकालविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ । उनीहरूले भारतमा उत्पादित बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन रजनीगन्धा दर्ता भएभन्दा फरक नम्बर प्लेटको ढुवानी साधनमा ओसारपसार गरेको पाइएको थियो।
उक्त रजनीगन्धा ढुवानीमा प्रयोग गरिएको ट्रकमा नेपाली सेनाको लोगो समेत दूरुपयोग गरिएको पाइएको विभागले जनाएको छ । उक्त रजनीगन्धा काठमाडौं लगायतका क्षेत्रमा बिक्री वितरण गर्ने गरेको र सोबाट प्राप्त आयमा प्रचलित कानून बमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व नबुझाइ राजश्व चुहावट गरेको पाइएको विभागको भनाइ छ। विभागले राजश्व चुहावट ऐन (नियन्त्रण तथा अनुसन्धान), २०५२ को दफा छ (१) ङ बमोजिम १८ लाख ४६ हजार ७३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।