डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउँदै छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँपटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदवारी दिँदैछन् । प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा पुगेकी छन् ।
देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचनमा निर्वाचित हुँदै आएका छन् । उनी प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँपटक निर्वाचित भएका थिए । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले बताइन् ।
यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । उनी २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो । त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँचपटक प्रधानमन्त्री भएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीनपटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दैछन् ।