धनगढी। नेकपा एमालेका नेता डा। भीम रावलले आत्मालोचना नगर्ने अडान लिएका छन् । विगतमा पार्टी अध्यक्षको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भन्ने समाचार आएपछि नेता रावलले यस्तो बताएका हुन्।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्टघन गरेको संसद् पुनःस्थापनाका लागि आफूहरुले गरेका क्रियाकलापमा कुनै पनि खालको आत्मालोचना नगर्ने उनको अडान छ।
‘उनले अहिले चुनावका बेला त्यति बेलाका सबै कुरामा समीक्षा गर्ने समय छैन भने,’ उनले भने, ‘मैले धेरै टेलिभिजनसँगको अन्तर्वार्तामा पनि आत्मालोचना गर्ने कुरै छैन भनेको छु उनले दोहोर्याउँदै भने, अहिले पनि म त्यही कुरामा अडिग छु ।’ एमाले अध्यक्ष ओलीले आफूलाई हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरेर हस्ताक्षर गर्ने, अदालत जाने १० जनाले उम्मेदवार हुने हो भने आत्मालोचना गर्नुपर्छ भन्ने धारणा राखेको चर्चा भइरहेको बेला नेता रावलले आफूले आत्मालोचना नगर्ने बताए।
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल नाम सिफारिस भएका डा.रावलले पार्टीले उम्मेदवार बनाए उम्मेदवार हुने बताए।‘म चुनाव लड्न तयार छु यो कुरा धेरै ठाउँमा भनिसकेको छु तर हाम्रा नेताहरुका कुरा सुन्नु भएकै छ, हेर्दै जाउँ के गर्नुहुन्छ,’ उनले भने। नेता रावल गत निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। रावल एकल नाम सिफारिस भएपछि अछाम पुगेर एक साता लामो बसाइपछि आज काठमाडौ फर्किएका छन् ।उनले अछाममा एमाले कार्यकर्तासँग भेटघाट र छलफल पनि गरेका थिए। नेता रावल गत निर्वाचनमा समेत अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। ०४८ र ०५६ सालमा सो क्षेत्रमा पराजित रावल ०५१, ०७० र ०७४ को चुनावमा विजयी भएका थिए। ०६४ सालमा पनि उहाँ संविधान सभाको समानुपातिकतर्फको सभासद भएका थिए।