धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको छ । सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश विपद् कार्य समितिको बैठकले मृतकका परिवारलाई एक लाख र २० हजार थप किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणवहादुर रावलले
बैठकले घर क्षति भएका परिवारलाई जनही ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए । यस्तै पछिल्लो समयमा डेंगीको समेत प्रकोप बढेकाले सो को नियन्त्रणका लागि १० लाख बराबरकोे झुल खरिद गर्ने र पीडितहरूलाई राहत दिनका लागि १०/१० लाखको म्याट र त्रिपाल खरिद गर्ने निर्णय गरेको छ । पीडितहरूलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउनका लागि एक करोड रुपैयाँ स्थानीय तहलाई दिइने निर्णयसमेत भएको मन्त्री रावलले जानकारी दिए ।
सुदूरपश्चिममा गत शुक्रबार आएको बाढी पहिरोमा परी २६ जनाको मृत्यु भएको छ। अछाममा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । कैलालीमा तीनजनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। बाढी र पहिरोमा परी तीन जिल्लामा चार हजार पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कैलालीमा चार हजार ५०, कञ्चनपुरमा ४२० र अछाममा ३४ परिवार विस्थापित भएका छन् ।

