दार्चुला। दार्चुला महाकाली नदीमा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलन्यास गरिएको छ। सोमबार नेपालकातर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रुपमा मोटरेबल पुलको शिलान्यास गरेका हुन्।
आज पुल निर्माणस्थलमा भारत र नेपालकातर्फबाट संयुक्त रुपमा पुलको शिलान्यास गरिएको मन्त्री बडूका स्वकीय सचिव हेमन्त बिष्टले जानकारी दिए। यो पुलले महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने छ। सुदूर पहाडमा महाकाली नदीमाथी बन्ने यो पहिलो मोटरेबल पुल बन्ने छ।मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले दुइ देशलाई व्यापारिक मार्गमा जोडिने भएकाले स्थानीय, व्यवसायी खुसी भएका छन्।
करिब ३३ लाखको भारतीय लगानी निर्माण हुने पुलको लम्बाइ ११० मिटर छ। मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउँदै यसले सुदूरपहाडको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन्। दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने बिश्वास गरिएको छ।महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूले बताए ।त्यसैगरी दुबै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउन समेत पुल महत्तपूर्ण हुनेछ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै सडक यातायात र मालसामान ढुवानीमा पनि सहज हुने स्थानीयहरूको प्रतिक्रिया छ । भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि, नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतहरूको उपस्थिति रहेको थियो । यस्तै जिल्ला समन्वय समिति प्रमुख महादेब बडू महाकाली नगरपालिाकका नगर प्रमुख नर सिह चैसिर,उप प्रमुख दुर्गा कुमारी खत्री विष्ट, लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी नौगाड गाउँपालिका उपाध्यक्ष जगत सिह ठगुन्ना, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, चार वटै सुरक्षा निकायका प्रमुख एवम कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पुजा गरिएको छ।