अछाम। पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका हुन् ।गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेका छन्।
गृहमन्त्रालयमा भएको रिपोर्टिङ अनुसार अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्।