काठमाडौं। सरकारले असोज १ गते मध्यराति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए।
यसैबीच प्रतिनिधिसभाको अन्तिम बैठक शनिबारका लागि बोलाइएको छ। बैठक भोलि दिउँसो१ बजे बस्दैछ। मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ भने निर्वाचन आयोगले असोज २ र ३ गते (आइतबार र सोमबार)का लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ ।
सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसद्मा २७ विधेयक निष्क्रिय हुने भएका छन् ।राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभाले अड्काएकै कारण ५ विधेयक निष्क्रिय हुँदै छन् । संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि यही सभामा उत्पत्ति भएको विधेयक स्वतः निष्क्रिय भएको मानिने व्यवस्था छ ।

