देशभरका कक्षा ११ र १२ का शिक्षकले मंगलबार कालोपट्टी बाँधेर अध्यापन गरेका छन् । करिब ३ हजार ५ सय साबिक उच्च माध्यमिक विद्यालयमा ७ लाख विद्यार्थी अध्ययन गर्दै आए पनि सरकारले एकजना पनि स्थायी दरबन्दीको शिक्षक उपलब्ध नगराएको विरोधमा उनीहरूले कालोपट्टी बाँधेर अध्यापन गरेका हुन्।
साबिक उमाविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका तीन प्रकारका शिक्षक कार्यरत छन्। ३० वर्षदेखि कक्षा ११ र १२ सञ्चालन हुँदै आए पनि स्थायी शिक्षक उपलब्ध नगराउँदा एसएलसी परीक्षाको गुणस्तर खस्किएको र लामो समयदेखि कार्यरत शिक्षकको भविष्य समेत अनिश्चित बनाएको भन्दै उनीहरू एक सातादेखि आन्दोलित छन्।
यसक्रममा ३० भदौमा कक्षा ११ र १२ अध्यापन हुने विद्यालयमा पेनडाउन गरी पठनपाठन एक दिनका लागि स्थगन गर्ने आन्दोलनका कार्यक्रम तय गरिएको माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष दीपकराज सुवेदीले बताए ।११ र १२ कक्षाका शिक्षकले आफ्ना १६ बुँदे मागबारे सोमबार ७७ वटै जिल्लाबाट सांसदहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।