कैलाली। कैलालीका १३० भूमिहीन बादी परिवारले लालपूर्जा पाएका छन्। कैलालीको लम्कीचुहा ३ बल्चौरका १३० भूमिहीन वादी परिवारले घरबासको लालपूर्जा प्राप्त गरेका हुन्। पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवार मध्ये १२४ परिवारले मंगलबार हातमा लालपूर्जा पाए। भने ६ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिनेछ ।
लालपूर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन्। बादी समुदायका परिवारलाई लालपूर्जा वितरण गर्न नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ कैलाली पुगेकी छन् । मन्त्री श्रेष्ठले पूर्वमा मुसहर र पश्चिममा बादी समुदायका प्रतिनिधिसँग प्रतिवद्धता जनाएअनुसार आफैँ उपस्थित भएको बताईन्। लम्कीचुहा बल्चौरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध भएको भूमिहीनलाई घरबास र आवास दिने व्यवस्था अनुसार पिँधमा रहेको मुसहर, बादी चमार, डोमलगायतका समुदायलाई प्राथमिकतामा राखेर जग्गा वितरणको काम भइरहेको बताईन् ।
मन्त्री श्रेष्ठले २०२१ सालमा भूमि सुधार लागू भएको बेला नाप्न छुटेका गाउँब्लकका जग्गादेखि यस अघिका आयोगले लालपूर्जा दिएका तर जग्गा नपाएकासम्मलाई यसपटकको अधिकार सम्पन्न आयोगबाट जग्गा नापी गरी आउँदो एक वर्षमा पाँच लाख र दोस्रो वर्ष नेपालभरका सबै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपूर्जा दिएर नेपालबाटै भूमिहीको समस्या समाधान गरिने बताइन् । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले समाजमा पछि परेको भूमिहीन वादी समुदायले घरबासको लालपूर्जा पाउनु समुदायले आत्मसम्मानका रुपमा लिनुपर्ने बताइन्।
सुदूरपश्चिम प्रदेश सरकारका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सबै नागरिकलाई जग्गाको स्वामित्व हुनुपर्छ भन्ने मान्यताअनुसार लालपूर्जा पाउनु बादी समुदायको सङ्घर्षको उपलब्धि पनि भएको बताउँदै अघिल्लो आयोग खारेज भएपछि भूमिहीनले जग्गा पाउँदैनन् कि भन्ने भ्रम अब सकिएको बताइन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य कमलाकुमारी ओलीले यसअघिका आयोगले काम शुरु गरे पनि लालपूर्जा दिन नपाएको र नयाँ आयोगले सबै भूमिहीनलाई समयमै लालपूर्जा उपलब्ध गराउने विश्वास व्यक्त गरिन् ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हरि ज्ञवालीले युगौँदेखि उत्पीडनमा परेको समुदायले लालपूर्जा पाउनु गणतान्त्रिक संविधान र सरकारको उपलब्धि भएको बताए । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापा र उमादेवी बादी, नेपाली काँगे्रस कैलालीका सभापति नारायणदत्त भट्टलगायतले भूमिहीनलाई लालपूर्जा वितरण गर्ने काम छिटो गर्नुपर्ने सुझाव दिएका छन् । भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले लम्किचुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको, जिल्लाका पाँच पालिकामा लालपूर्जा वितरण गर्ने तयारी भैरहेको र आयोगमा कैलालीका सवा लाख व्यक्तिका निवेदन परेको जानकारी दिए। लालपूर्जा पाएका बादी समुदाय खुशी भएका र छिट्टै बाँकी रहेकाले पनि पनि पाउने आशा रहेको रमा बादीले बताइन् ।