कञ्चनपुर। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने कुराको कञ्चनपुरमा विरोध शुरु भएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले गरेको सहमति सार्वजनिक भए लगत्तै कञ्चनपुरमा विरोध शुरु भएको हो। कांग्रेसका नेता कार्यकर्ताहरुले कञ्चनपुरमा गठबन्धन स्वीकार्य नहुने भनेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सत्तारुढ दलका शीर्ष नेताहरुले गरेको सहमतिको चर्को विरोध गरेका छन्।
नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य युवा नेता राम खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गठबन्धन दलका नेताहरुले गरेको सहमति नेपाली कांग्रेसका हितमा नभए स्वीकार्य नहुने बताए।‘संघीय र प्रदेश निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ गठबन्धन दलका शिर्ष नेताहरुको निर्णयले प्रश्न उब्जाएको छ । गठबन्धन के का आधारमा गर्ने ? कञ्चनपुर १ मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा नेपाली कांग्रेसको पहिलो नम्बरमा छ ।
माओवादी तेस्रो नम्बरमा छ। स्थानीय तहको मत परिणामका आधारमा संघीय सांसदको उम्मेदवार कांग्रेसले पाउनु पर्दछ । यो नै न्याय संगत हो । तेस्रो रहेको माओवादीलाई संघीय सांसद उम्मेद्वार दिन नेपाली कांग्रेसका कार्यकर्ता मान्न तयार छैनन्। पार्टी अनुकुलको गठबन्धन स्वीकार्य छैन’ भन्दै युवा नेता खड्काले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामका आधारमा कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पहिलो रहेकाले संघीय सांसद नेपाली कांग्रेसले पाउनु पर्ने नेता कार्यकर्ताहरुको दाबी छ।
त्यस्तै शुक्रबार जारी सत्तारुढ दलका शीर्ष नेताहरुले गठबन्धन गर्ने सहमति गलत भएकाले गठबन्धन स्वीकार्य नहुने नेपाल विद्यार्थी संघका नेता यज्ञ खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेर विरोध जनाएका छन्। ‘बरु हार जित सहजै स्वीकारिन्छ, गठबन्धन स्वीकारिदैन’, विद्यार्थी नेता खड्काले लेखेका छन् ।सत्तारुढ दलका शीर्ष नेताहरुले गठबन्धनको सहमति सार्वजनिक गरे लगत्तै कञ्चनपुरमा चर्को विरोध शुरु भएको छ। यसअघि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगर्ने उद्घोषका साथ कञ्चनपुरमा कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएपछि कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो ।