काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको बन्ने भएका छन् । अर्थमन्त्री नियुक्त गर्नेबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।अर्थमन्त्रीमा जनार्दनलाई नै नियुक्त गर्ने प्रस्ताव लिएर प्रचण्ड बालुवाटार पुगेका हुन् । आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने स्रोतको दाबी छ । स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ ।
प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन् । आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो । अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ।