दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरमाथि बलात्कारको आरोप लागेको छ। उनलाई पूर्व मेयरकी छोरीले बलात्कारको आरोप लगाएकी हुन्। शैल्यशिखरका पूर्व मेयर तथा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयसिंह धामीसँग पराजित भएका मेयरका उम्मेदवार अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी)ले उक्त आरोप लगाएकी हुन्।
उनले हालका मेयर विजयसिंह धामीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा बलात्कारको आरोप लगाउँदै आइरहेकी छिन्।करुणाले संकटकालका बेला अहिलेका मेयर विजयसिंहले सोही ठाउँकी एक स्थानीय महिलामाथि बलात्कार गरेको आरोप लगाइन्। उनले भनिन्, ‘ती पीडित महिला अहिले पनि जीवितै छिन्। यो २०६१ सालमा घटाएको घटना हो।
पाँच जनाले महिलामाथि बलात्कार गरेका थिए।’ ती पाँच जनामध्ये अहिलेका मेयर प्रमुख पीडक रहेको उनको दाबी छ। यता मेयर विजयसिंह धामीले आफूमाथि झुठो आरोप लगाएर चरित्रहत्या गरेको बताए। आफ्नो बुवा चुनावमा हारेका कारण उनकी छोरी (करुणा)ले पटक-पटक आरोप लगाउने गरेको मेयर धामीले बताए। चुनावी मैदानमा भएका बेला पनि यस्तै आरोप लगाएको उनले बताए। अहिले हारेपछि पनि आरोप लगाइरहेका छन्।उनले अब पूर्व मेयरकी छोरीविरुद्ध प्रहरीमा उजुरी दिने तयारीमा रहेको बताए।