कैलाली। धनगढी उपमहानगरपालिकाले पत्रकारलाई समाचार संकलनमा अवरोध गरेको बिषयमा स्वयम पत्रकारले घटनाको छानबिनको माग गरेका छन् । अनलाइन खबरमा कार्यरत पत्रकार जनक बिष्टले आज पत्रकार महासंघ कैलालीलाई घटनाबारे छानबिनको माग गर्दै निवेदन पेस गरेका हुन् ।
असार २७ गते बसेको धनगढी नगर सभाको बैठकमा बिस्टलाई पाखुरा समातेर बाहिर निकालेको भन्दै पत्रकार महासंघ कैलाली सहित विभिन्न पेसागत संघ संस्थाहरूले विज्ञप्ति जारी गरेका थिए। तर, घटनाको ४ दिन पछि धनगढी उपमहानगर पालिकाले विज्ञप्ति जारी गर्दै उक्त विषयको खण्डन गरेको हो । हिजो नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा उक्त दिन कुनै पनि पत्रकारलाई ननिकालिएको प्रस्ट पारेका छन्।
यसैबिच पत्रकारले दिएको अभिव्यक्ति र नगरपालिकाको विज्ञप्ति बाझिएपछि बिष्टले छानबिनको माग गरेका हुन् । उपमहानगरपालिकाको दाबीअनुसार घटना नभएको र अनावश्यक रूपमा आफूले अतिरञ्जित गरेको देखिएमा आफूमाथि समेत छानबिन गरी कारवाही गर्न उनले माग गरेका छन् उनको निवेदन पाए लगत्तै महासंघले पनि यस बिषयमा चासो देखाएको छ । घटनाको सत्य तथ्य छानबिन हुने पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिएका छन् ।(यो हेर्नुहोस पत्रकारको निवेदन,नेपाल पत्रकार महासंघ कैलालीको २७ गतेको र धनगढी उपमहानगरपालीको ३१ गतेको प्रेस बिज्ञप्ती)





