कैलाली। हावाहुरीका कारण कैलालीको टीकापुरमा भएको नोक्सानीको क्षतिपुर्ती दिन माग गरिएको छ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले एक प्रेस विज्ञप्ती जारी गर्दै जेष्ठ २८ र अषाढ १ गते आएको हावाहुरी केरा खेतीमा भएको क्षतिपुर्ती दिन माग गरेको हो। सुदूरपश्चिम कार्यसमितिका अध्यक्ष प्रकाश बहादुर थापाद्धारा जारी विज्ञप्तीमा ५ सय विगामा गरिएको केरा खेती मध्ये ३ सय विगाहामा लगाएको केरा खेतीमा पुर्ण क्षति भएको उल्लेख छ।
जसका कारण २ सय किसान र उनीहरुमा आश्रीत करिव १ हजार २५० जना परिवार प्रभावित भएकाले यस क्षेतिको अविलम्ब स्थलगत अनुगमन र क्षतिको यथार्थ विवरणको संकलन सहित पीडित किसानलाई क्षतिपुर्ती दिन स्थानीय सरकारका साथै प्रदेश सरकारसंग माग गरिएको छ ।उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि केरा खेती किसान निकै चिन्तित छन् ।
कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा जेष्ठ २८ र अषाढ १ गतेको हावाहुरीले नष्ट गरेको छ । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैनन्।बैंकबाट ऋृण निकालेर व्यवसाय गरेका शंकरले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको उनले बताए ।


