अछाम। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको न्यायको माग गर्दै चार राजनीतिक दलद्धारा प्रशासन घेराउ देखी चरणबद्ध आन्दोलन गर्ने बताएका छन्।
शाहीको हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा आफन्तजनले किटानी जाहेरी गर्दा समेत आरोपितलाई पक्राउ नगरको भन्दै ४ वटा राजनीतिक दलहरूले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
नेकपा एमाले नगर कमिटीका इन्चार्ज भीम बहादुर बिस्ट,नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष अमर बिक,नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य वीरेन्द्र शाही र नेकपा (विप्लव) नगर इन्चार्ज सर्जन धामीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति मार्फत उनीहरूले आरोपितलाई तत्काल पक्राउ गरि कारबाहीको प्रक्रिया सुरु नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आन्दोलनका कार्यक्रम अनुसार यही असार २ गते विरोध र्याली गर्ने,३ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने,४ गते जिल्ला प्रशासन कार्यालयमा अनसन सुरु गर्ने र ५ गते सिटी र्याली गर्ने कार्यक्रम रहेका छन् । घटना भएको हप्ता दिन बितिसक्दा समेत आरोपितलाई नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले अछाम प्रहरीको कार्यक्षमता माथि प्रश्न उठाउन थालेका छन् भने मृतकका आफन्तले न्याय पाउनेमा समेत आशङ्का गर्न थालिएको छ । आन्दोलनबाट पर्न जाने असरको जिम्मा जिल्ला प्रशासन,जिल्ला प्रहरी र सरकारले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।