धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा भाटभटेनीको सेवा सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको हो। देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो।
स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङ लगायत सपरिवारले उद्घाटन गरेका हुन्। देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम प्रदेशमा भने धनगढीबाट पहिलोपटक सेवा शुभारम्भ गरेको हो। १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक, फर्निचर, खेलौना लगाएत सम्पूर्ण सामानहरु उपलब्ध छन्।
त्यसैगरी स्टोरमा रेष्टुरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्स) पनि सूचारु हुने बताइएको छ। सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए। उनले स्टोर २ अर्बको लागतमा सञ्चालनमा आएको बताए। शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाट–भटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए। साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उनले जनाए। शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर, धनगढीका प्रजिअ किरण थापा, लगाएतको उपस्थिति रहेको थियो।


