अछाम। पञ्चदेवल विनायक नगरपालिका- ४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् । शव भेटिएको ६ दिनपछि उनको पोस्टमार्टम भएको हो । राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ ।
पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार नवनिर्वाचित जनप्रतिनिधिलगायतको नाममा किटानी जाहेरी दर्ता भएको छ । बुधबार दुई जनालाई अनुसन्धानका लागि छानबिनमा तानिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । अनुसन्धानको निष्कर्षनजिक पुगिसकेका छौं । अबको एक हप्ताभित्र अनुसन्धानको अन्तिम नतिजा आइसक्छ, प्रजिअ मरासेनीले भने ।
यसअघि पनि प्रहरीले ४ जना र बुधबार २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ । घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ। मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन् । विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो। मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए । तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् ।