कैलाली। जिल्ला समन्वय समिति कैलालीको विभिन्न पदाधिकारीकालागि आइतबार मनोनयन दर्ता भएको छ।
निर्वाचन कार्यतालिका अनुसार आज (आइतबार) प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट ईन्द्र चौधरीको उम्मेदवारी दर्ता भएको हो। यही जेठ ३० गते समन्वय समितिको निर्वाचन हुँदै छ ।
गठबन्धनका साझा उम्मेदवार कलेल गौरीगंगा नगरपालिका–८ र चौधरी जानकी गाउँपालिका–६ मा निर्वाचित भएका हुन् । यस्तै जिससको उपप्रमुखका लागि पनि २ जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट खगराज भुषाल र नेकपा एमालेबाट राजेन्द खनालको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै अन्य ७ जना सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जानकारी दिएको छ । जिसस कैलालीको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल भएको छ भने एमाले र नागरिक उम्मुक्ति पार्टीबीच छुट्टै तालमेल भएको छ। कैलालीमा जिसस गठनका लागि १३ पालिकाका प्रमुख/उपप्रमुख गरेर २६ जना मतदाता छन् । जिल्ला समन्वय समितिमा जित्नका लागि १४ मत आवश्यक पर्दछ।


