धनगढी। सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन्। नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बढी र भर्ना अभियान सकिएर विद्यालय नियमित सञ्चालन हुँदा अझै ४० प्रतिशत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको हो ।
जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने जनाएको छ। जसकारण सुदूरपश्चिम प्रदेशमा विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीको हातमा किताब नहुँदा पठनपाठन गर्न नसकिएको धनगढीको फूलबारीस्थत जनजागृति माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर क्षेत्रीले बताए ।
‘पाठ्यपुस्तक नहुँदा नेटबाट डाउनलोड गरेर अलि–अलि काम चलाएका छौँ,’ उनले भने, ‘स्कुल लागेको पनि आधा महिनाभन्दा बढी भइसक्यो किताब आउँदैन ।’अहिलेसम्म ३ कक्षासम्मको मात्रै किताब पाइएको उनले बताए। कक्षा ४, ७ र ९ मा यो वर्ष पूरै पाठ्यक्रम परिवर्तन भएकोले ती कक्षामा के पढाउने भन्ने अन्योल भएको उनको भनाई छ। पाठ्य सामग्री डाउनलोड गरेर पढाउने प्रयास गरे पनि विद्यार्थीमा किताब नहुँदा अभिरुचि जगाउन नसकिएको धनगढीको सरस्वती आधारभूत विद्यालयका प्राचार्य पदमराज जोशीले बताए ।
‘किताब नहुँदा पठनपाठनमा समस्या भएको छ,’ उनले भने, ‘विद्यार्थीमा पनि कक्षाकोठा बसेर पढ्ने उत्साह आएको छैन । पाठ्यक्रम डाउनलोड गरेर पढाउने प्रयास गरिएको भएपनि सहज छैन । सरकारी विद्यालयको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले भने सुदूरपश्चिम प्रदेशका सबै सरकारी विद्यालयमा जेठ मसान्तसम्म पाठ्यपुस्तक पुग्ने दाबी गरेको छ । प्रदेशका सात पहाडी जिल्लाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक पठाइ सकिएको जनक शिक्षाले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक ध्रुवराज पन्तले प्रदेशका पहाडी जिल्लामा पुस्तक वितरण सकिएको र कैलाली र कञ्चनपुरका विद्यालयमा पुस्तक वितरण कार्य सुरु भएको बताए । कक्षा ७ को १० हजार र ९ को १५ हजार पाठ्यपुस्तक आउन बाँकी रहेको उनले बताए । आउन बाँकी रहेको पाठ्यपुस्तक दुई-तीन दिनमा आइपुग्ने उनको दाबी छ । ‘जेठ मसान्तसम्म प्रदेशका सबै विद्यालयमा पुस्तक पुगाउने लक्ष्य छ,’ उनले भने । प्रदेशभर हालसम्म ६० प्रतिशत पाठ्यपुस्तक वितरण गरिसकेको र ४० प्रतिशत पुस्तक वितरण बाँकी रहेको निर्देशक पन्तले जानकारी दिएका छन् ।