धनगढी। प्रदेश युवा परिषद् सुदूरपश्चिमद्वारा रक्तदान तथा खाद्यान्न सहयोग भएको छ । युवा परिषद्ले प्रथम स्थापना दिवसको अवसरमा प्रदेशको राजधानी अत्तरियामा रक्तदान र कैलालीको बौनियास्थित सहारा घरमा खाद्यान्न सहयोग गरेको हो ।
कार्यकारी उपाध्यक्ष युवराज कुँवरका अनुसार अत्तरियामा युवा परिषद् र सुदूरपश्चिम सामुदायिक अस्पताल अत्तरियाले संयुक्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । २४ जनाले उक्त कार्यक्रममा रक्तदान गरेका थिए।
बिरामीको चाप बढ्ने समयलाई ध्यानमा राखेर कैलालीको ब्लड बैङ्कमा रगतको अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको कुँवरले बताए। त्यस्तै युवा परिषद्ले बेसहाराको सहारा बनेको सहारा घरलाई १८ हजारको खाद्यान्न समेत सहयोग गरेको छ ।



