कैलाली। कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम गरिएको छ । कैलालीको गेटामा निर्माण सम्पन्नको अवस्थामा रहेको मेडिकल कलेज सञ्जालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको हो।
गेटा मेडिकल कलेज सञ्चालनकालागि गठित संघर्ष समिति तथा स्थानीय युवाहरुले बुधबार दिउँसो कैलालीको अत्तरीयामा चक्काजाम गरेका हुन्। निर्माण सम्पन्न हुन लागेको मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइनुपर्ने उनीहरुको माग छ। उनीहरुले करिब एक घण्टा चक्काजाम गरीएको बताएका छन्।
सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरेको र निर्माण गरिएका संरचना अलपत्र हुनेगरि सरकारले वेवास्ता गरेकाले दबाब थालिएको उनीहरुले बताएका छन्। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको कार्यक्रममा पहाडी जिल्ला डडेलधुरामा मेडिकल कलेज सञ्चालन गरिने विषय समावेश भएपछि गेटा मेडिकल कलेज अलपत्र पर्ने चिन्ता गर्न थालिएको छ।
सरकारले डडेल्धुरामा भने मेडिकल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। तर, गेटा मेडिकल कलेज त्यसमा उल्लेख गरेको छैन। गेटा मेडिकल कलेजको २०७३/०७४ सालबाट निर्माण थालिएकोमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएपनि सञ्चालनमा आउन सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेलधुरामा मेडिकल सञ्चालन गर्ने सरकारको नीतिले गेट मेडिकल कलेज ओझेलमा पर्ने भन्दै कैलालीका स्थानीयले विरोध जनाइरहेका छन्।सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय उल्लेख छ। यस्तै, सबै प्रदेशमा कम्तिमा दुईरदुई वटा मेडिकल कलेज स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।