कैलाली। नयाँ मतदाताहरूकालागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार)मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।
आयोगले सम्बन्धित मितदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ। जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन्। जसमा महिलाको सङ्ख्या बढी छ। कैलालीमा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन्। ११ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। यस्तै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ ।
‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसंचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेका छन्,’ उनले भने । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ। आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।