काठमाडौं। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण मागेको छ । उनले चितवनको भरतपुरमा दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको हो।
“यहाँ नेकपा माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्नुको अन्तरनिहित मनसाय के हो? यहाँको अभिव्यक्ति प्रचलति निर्वाचन कानुनविपरीत छ छैन ?” आयोगले स्पष्टीकरणपत्रमा सोधेको छ, “ यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ छैन ? जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उमेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ, हुँदैन ? चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुने गरी स्पष्ट जवाफ पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।”यस्तै, निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवालाई स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आरजूलाई स्पष्टिकरण सोधेको हो। आयोगले ‘तपाईंको अभिव्यक्तिले बालिगको स्वतन्त्र मताधिकार हनन् गर्छ कि गर्दैन ?’ भन्दै चौबीस घण्टाभित्र लिखित स्पिष्टिकरण पेश गर्न भनेको छ । आरजूले केही दिन अगाडि नेपाली कांग्रेस पराजित भएका क्षेत्रमा सरकारले बजेट नपठाउने बताएकी थिइन् ।धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४/५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएको थियो।
उक्त उजुरीका आधारमा आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको बताएको छ। ‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ,छैन? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ‚ गर्दैन? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ‚’ आयोगले पठाएको पत्रमा भनिएको छ ।