कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ‘नाइन इलेभन’ मा युवक मृत प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । प्रहरीले होटल सञ्चालक कोमल बहादुर सिंहसहित कर्मचारी र मृतकका साथी गरी २० जनालाई नियन्त्रणमा लिएको हो ।
घटनाको सोधपुछका लागि होटलमा १८/२० जना कर्मचारीसहित मृतकका साथीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय बुधबार बिहान होटलको चौथो तलामा रहेको कोठा नम्बर ४०३ मा मृत भेटिएका थिए । मृतकको शरीरमा कुनै चोटपटक नरहेको प्रहरीको भनाई छ ।
घटनास्थलमा सीसीसहित ५ वटा तयार अवस्थामा राखिएका सुई पनि भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले जानकारी दिए । लागूपदार्थको ओभरडोजले मुकुलको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।अहिले शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ । मृतक मुकुल पढाइका लागि यही वैशाख २२ गते जापान उड्ने तयारीमा रहेका थिए ।