दार्चुला। यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलहरुबीच भागबण्डामा सहमति बनेको छ।
लामो छलफलपछि मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो। यसअघि स्थानीय तहमा भागबण्डाको कुरो नमिल्दा सहमति हुन सकेको थिएन । केन्द्रीय सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम गर्ने गरी स्थानीय तहमा समझदारी भएको नेपाली कांंग्रेस जिल्ला कार्य समिति सभापति ललितसिंह बोहराले जानकारी दिए ।
मंगलबार भएको भागबण्डाको सहमतिमा नेपाली कांग्रेसले ५ स्थानीय तहमा प्रमुख र नेकपा माओवादी केन्द्रले ४ स्थानीय तहमा प्रमुख पाउने भएको छ। नेपाली कांग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिका पाउने र माओवादीले मार्मा गाउँपालिका, अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख पाउने सहमति भएको काँग्रेस सभापति बोहराले बताए ।
यस्तै कांंग्रेसले ७ पालिका (अपी हिमाल, मार्मा, शैल्यशिखर, महाकाली, लेकम, दुहुँ र नौगाड) मा उपप्रमुख-उपाध्यक्ष पाएको छ भने माओवादीले २ पालिका (व्याँस र मालिकार्जुन) मा उपाध्यक्ष पाएको छ। सहमति अनुसार कांग्रेसले ४६ वटा वडा पाएको छ। दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ५ स्थानीय तह, नेकपा एमालेले ३ र नेकपा माओवादीले १ स्थानीय तह जितेको थियो । सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले यसअघि जितेका पालिकामा नै चित्त बुझाएको छ। अघिल्लो चुनावमा एक स्थानीय तह जितेको माओवादीले यसपालि थप तीन पालिका पाएको छ। जिल्लामा सत्तागठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीलाई पनि मिलाएर जाने सहमति अनुसार एक दुई ठाउँमा वडाध्यक्ष तथा केही सदस्य दिने बुझिएको छ। यसबारे पत्रकार सम्मलेन गरी जानकारी गराइने बताइएको छ।