काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् ।
देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने-ल्याउने व्यवस्था मिलाएको छ ।
देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।