कैलाली। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा मृत्यु भएका बिरामीका आफन्तले बुझेका छन्। शनिबार बिहान गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
बिरामीको मृत्यु भएपछि बिहान देखी पद्मा अस्पतालमा तनावग्रस्त भएको थियो।डाक्टरको लापर्बाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित भएका मृतकका आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका थिए भने, अत्तरियाको यातायात पनि अवरुद्ध पारेका थिए। आज दिउँसो अस्पताल, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीच सहमति भएपछि उनीहरुले शव बुझेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार अस्पतालले राहत तथा क्षतीपूर्ती दिने,मेडिकल रिर्पोट चेकजाँच गर्ने तथा प्रहरीले घटनाको आवश्यक छानविन गर्ने सहमतिपछि उनीहरुले शव बुझेको जानकारी दिए ।ढुंगामुडाका क्रममा ३ जना घाईते भएका थिए। ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेका छन्। आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो।