कञ्चनपुर। कञ्चनपुरको मझगाउँ विमानस्थलको काम रोकिएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खेल मैदानको जमिनको भोगाधिकार नपाउँदा विमानस्थलको स्तरोन्नतिको काम रोकिएको हो।
बुधबार निकुञ्ज प्रशासनले रत्न वाटिकामा काम गरिरहेको अवस्थामा विमानस्थल निर्माण कम्पनीका कामदार र उपकरणहरू नियन्त्रणमा लिएपछि झनै समस्या सिर्जना भएको थियो। मझगाउँ विमानस्थलको नाममा रहेको जमिनमा धावन मार्गको सरसफाइको काम भइरहेकै अवस्थामा रत्न वाटिकामा सेन्टर लाइन छुट्याउने बेला निकुञ्ज प्रशासनले कामदार, एक्स्काभेटर र ग्रेडर नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो रुख तथा बुट्यानहरू नकाटिएकै स्थानमा स्काभेटर र ग्रेडर चले पनि निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गणको टोलीले कामदार र उपकरणहरू नियन्त्रणमा लिएको हो । ‘रत्न वाटिकाको भोगाधिकार विमानस्थलले पाएको छैन, यस्तो अवस्थामा कसरी काम गर्न दिने रु,’ निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने, ‘फेरि यहाँ रहेका रूख तथा बुट्यान काट्न पनि कुनै प्रक्रिया अपनाइएको छैन ।’ उनले बुधबार नियन्त्रणमा लिएका कामदारलाई जनप्रतिनिधिको रोहबरमा तारेखमा छाडी बिहीबार बोलाएर बयान लिने काम भएको बताए । स्काभेटर र ग्रेडरको साँचो भने निकुञ्जमै राखिएको उनले बताए ।
बुधबार बिहान सुदूरपश्चिम प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारसहितको टोली विमानस्थल निर्माण स्थलमा पुगेको थियो । उक्त टोलीले रत्न वाटिकामा पनि रनवेका लागि काम थाल्न भनेपछि निर्माण कम्पनीले एक्स्काभेटर र ग्रेडर चलाएको थियो । उक्त क्षेत्रमा झारपात सफा गरिनसक्दै निकुञ्ज प्रशासनले कामदार र उपकरणहरू नियन्त्रणमा लिएको विमानस्थलका आयोजना प्रमुख मिनराज ओझाले बताए । विमानस्थलको नाममा रहेको जमिनको लम्बाइ १ हजार मिटर छ । रत्न वाटिकासहितको लम्बाइ जोड्दा १५ सय २५ मिटर हुन्छ । अहिले पहिलो चरणमा १५ सय २५ मिटर रनवे बनाइने ओझाले बताए । रत्न वाटिकाको जमिनको भोगाधिकार विमानस्थलका नाममा गर्ने प्रक्रिया चलिरहेकै बेला उक्त क्षेत्रमा काम भएको उनले बताए ।
‘एउटा सरकारी कामका लागि अर्को सरकारी जमिन प्रयोग भइरहेको हो, यसमा कामदार र उपकरण नियन्त्रणै गर्नुपर्ने अवस्था थिएन,’ ओझाले भने, ‘निकुञ्ज प्रशासन, सेना, रत्न वाटिकाका पदाधिकारी र स्थानीयले विमानस्थल सञ्चालनका लागि जमिन उपलब्ध गराउने प्रतिबद्धता पनि गरेका छन् ।’ उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा निर्माण भइरहेको आयोजना भएकाले सबै क्षेत्रले सहयोग पुर्याउनुपर्ने बताए । विमानस्थल निर्माणका लागि स्थानीय तह, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारले साझेदारी गरेका छन् । तीन वर्षभित्र निर्माण कार्य सक्ने गरी ४५ करोड ६६ लाखमा निर्माण कम्पनी कान्छारामरकेएसरउमा एन्ड कम्पनीसँग ठेक्का सम्झौता भएको हो ।
जसमध्ये दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र संघीय सरकारले ५० प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने त्रिपक्षीय साझेदारी भएको छ । मझगाउँ विमानस्थलमा २०३० देखि हवाई सेवा सुरु भएको हो । सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि स्तरोन्नतिको काम सुरु हुँदा स्थानीय निकै हर्षित भएका छन् । ६६ बिघा जमिन रहेको विमानस्थल क्षेत्रमा रहेका विभिन्न रुखहरू हटाउने तथा सेनाले खेल मैदानका रूपमा प्रयोग गरिरहेको जमिन पनि खाली गराउने विषयमा विमानस्थल आयोजना कार्यालय लागेको छ । आयोजनाले विगतको टर्मिनल भवनलाई कार्यालय बनाएर काम गरिरहेको छ ।कान्तीपुरबाट


