धनगढी। बर्दियाको ठाकुरबाबा नगरपालिकाको न्यायिक समितिको टोलीले कैलालीस्थित कैलारी गाउँपालिकाको अवलोकन भ्रमण गरेको छ।
कार्यसम्पादन मूल्यांकनमा कैलारी गाउँपालिका नेपालकै उत्कृष्ट पाँच पालिकाभित्र परेपछि कैलारीले गर्दै आएको कामका बारेमा जानकारी लिने उद्देश्यले सो टोलीले कैलारी गाउँपालिकाको भ्रमण गरेको हो। भ्रमण टोलीलाई गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौंवा र कर्मचारीले स्वागत गरेका थिए।
न्यायिक समितिको टोलीले कैलारी गाउँपालिकाको न्यायिक समितिले गर्दै आएको राम्रो काम, अभ्यासका साथै विविध विषयमा जानकारी लिएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए । समितिले कैलारीको गाउँसभा कक्ष, न्यायिक समितिको कक्षसमेत अवलोकन गरेको छ। यसैगरी, कैलारी गाउँपालिका र ठाकुरबाबा नगरपालिकाको न्यायिक समितिको टोलीबीच छलफल पनि भएको छ ।
छलफलको क्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक लक्ष्मी सत्गौंवाले न्यायिक समितिको कार्यसम्पादन प्रगति राम्रो रहेको बताइन् । उनले दर्ता भएको करिब छ सय मुद्दामध्ये पाँच सय मुद्दामा समितिले मेलमिलाप गराइसकेको जानकारी दिइन् । न्यायिक समितिको कामप्रति जनताबाट गुनासा नसुनिएको र मेलमिलाप गरिएका मुद्दा अहिलेसम्म न्यायिक समितिमा पुनः फर्केर नआएको सत्गौंवाको भनाइ थियो।
उनले जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै जनताबाट आएका गुनासालाई सबैले मिलेर सम्बोधन गर्ने गरेको बताइन्। छलफलको क्रममा मेलमिलाप समितिका सदस्य विष्णु चौधरीले कैलारी गाउँपालिकाको न्यायिक समितिले गरेका कामका बारेमा जानकारी गराएका थिए । यस्तै, ठाकुरबाबाको न्यायिक समितिले पनि आफूले गरेको राम्रो काम र अभ्यासको बारेमा कैलारी गाउँपालिकालाई जानकारी गराएको छ। छलफलमा कैलारी गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरसहित कर्मचारी, ठाकुरबाबा नगरपालिकाको न्यायिक समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।


