धनगढी। पहिलोपटक सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्ति गर्न विज्ञापन खुलाएको छ। आयोगले बुधबार एक सुचना जारी गर्दै स्थायी पदपूर्ति गर्न पहिलोपटक कर्मचारीको विज्ञापन खोलेको जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।
प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि १६७ पदमा विज्ञापन खुलाएको हो । जनरल फरेष्ट्री खुलातर्फ ९२, महिलातर्फ २५, आदिवासी जनजातीतर्फ २०, मधेसीतर्फ १६, दलिततर्फ ७, अपाङतर्फ ४ र पिछडीएको क्षेत्रतर्फ ३ गरी १६७ पदमा विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीले जानकारी दिए।
आयोगले फागुन दोस्रो साता मात्रै वार्षिक कार्यतालिकाअनुसार वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तहविहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने उल्लेख गरेको थियो। यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ। सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका तयार भएको छ।