दार्चुला। अतिक्रमित नेपाली भूमि लिपुलेकबाट कैलाश मानसरोवर दर्शन यात्रा दुई वर्षदेखि अवरुद्ध छ। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएपछि उक्त नाकाबाट भारतले कैलाश तीर्थयात्रा गराउन पाएको छैन ।
सात वर्षअघि चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले लिपुलेक नाका भएर धार्मिक यात्रा र व्यापारिक सम्बन्ध बढाउनेबारे सम्झौता गरेका थिए । लगत्तै नेपाल सरकारले लिपुलेक आफ्नो भूमि रहेको तथ्य दिँदै भारत र चीन दुबैलाई कूटनीतिक नोटसहित विरोध जनाएको थियो ।
प्रत्येक वर्ष भारतको धारचुलाबाट केही किमि मोटरमार्ग र त्यसपछि पैदल मार्ग भएर सञ्चालन हुँदै आएको कैलाश–मानसरोवर यात्रा यसपालि तेस्रो वर्ष पनि सञ्चालन हुने निश्चित छैन । लिपुलेक नाका भएर हरेक वर्ष झण्डै एक हजार भारतीय तीर्थयात्रीले कैलाश मानसरोवरको दर्शन गर्छन्। ५ हजार २ सय मीटरको लिपुलेक नाका चढेर सञ्चालन हुने कैलाश मानसरोवर यात्रामा झण्डै दुई हप्ता लाग्ने गर्छ ।
लिपुलेक जोड्ने सडक निर्माण जारी
लिपुलेक नाका भएर चीनको तिब्बतमा पर्ने पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालन नभए पनि भारतले सडक यातायातको विस्तार भने निरन्तर गरिरहेको छ। पिथौरागढ जिल्लाको धारचुला तहसिल मुख्यालयबाट ८० किमि लामो सडक निर्माण ट्रयाक खोलिएको छ ।
उक्त सडक चौडा बनाउने र कालोपत्रे गर्ने कार्य निरन्तर भइरहेको छ । भारतीय गृहमन्त्री अमित शाहका छोरा संलग्न रहेको गर्ग एण्ड गर्ग कम्पनीलाई सीमाक्षेत्रको सडक निर्माणमा संलग्न गराइएको छ ।
ओम पर्वत र आदि कैलाशको प्रवद्र्धन गरिँदै
पवित्र कैलाश–मानसरोवर तीर्थयात्रा कोरोनाका कारण सञ्चालन गर्न नसकिएपछि भारत सरकारले अतिक्रमित नेपाली भूमिमा पर्ने ओम पर्वत र आदि कैलाश पर्वत दर्शनलाई प्रोत्साहन गरिरहेको छ । गत वर्ष र अघिल्लो वर्ष कोरोना संक्रमणबीच पनि त्यस क्षेत्रमा सयौं भारतीय पर्यटकलाई भ्रमण गराइएको छ ।व्यास ऋषिले तपस्या गरेको ठाउँ भन्दै गत वर्ष गुञ्जीमा उत्तराखण्ड सरकारले शिव महोत्सव नै सञ्चालन गरेको थियो ।
महाकालीको मुहान रहेको जोलिङकाङ क्षेत्र, नाभी गाउँको होमस्टे र सौका जातिको संस्कृतिलाई पर्यटक आकर्षक बढाउन प्रचारप्रसार भइरहेको छ ।पिथौरागढ जिल्लामा जिल्ला पर्यटन अधिकारीको व्यवस्था गर्ने र डिएमको सिफारिसमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गराउने कार्य पनि भारतले एक साथ अघि बढाएको छ ।