संखुुवासभा। संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’
झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो। स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो । दुर्घटनामा मृत्यु भएकामध्ये १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
मृतकहरूको सनाखत हुन बाँकी छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । गम्भीर घाइतेहरुलाई अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए। बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।

