काठमाण्डौ। भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी लताको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। ‘स्वर कोकिला’ उपनामले परिचित लताको निधन सरस्वती पूजाका दिन आज भएको हो।
मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा लताको निधन भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ। लताले ३६ भाषामा गीत गाएकी छन्। उनले गाएका कैयौं नेपाली गीत पनि लोकप्रिय छन्। लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन्।उनको निधनमा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ।लता भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्केलगायत सम्मान तथा अवार्ड प्राप्त गायिका हुन्।
३६ भाषामा ५० हजार गीत रेकर्ड- लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन्। सन् १९६० देखि सन् २००० को कालखण्डमा निर्माण भएका अधिकांश चलचित्रमा लताको स्वर समावेश हुन्थ्यो।उनको स्वर विनाका चलचित्रका गीत अपूरो हुन्थे ।उनले सन् २०१५ मा रिलिज भएको ‘डुन्नो वाय’मा अन्तिम गीत गाएकी थिइन्। लता मंगेशकर ८० वर्षसम्म गीतसंगीतमा सक्रिय रुपमा लागेकी थिइन् । सन् १९२९ सेप्टेम्बर २९ तारिखमा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले १३ सालबाटै गीत गाउन थालेकी थिइन्। लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् । लताको सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो। उनी ‘पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के’लगायतबाट सम्मानित भएकी थिइन् । लतालाई ६१ वर्षको उमेरमा चलचित्र ‘लेकिन’बाट ‘राष्ट्रिय अवार्ड’ समेत मिलेको थियो । कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ । भारतका प्रधानमन्त्री, रक्षा मन्त्रीसँगै विभिन्न दलका नेता, बलिउडकर्मी, संगीतकर्मी र उनका शुभचिन्तकले उनलाई श्रद्धाञ्जली दिएका छन् ।